नदीमा पानी बढेपछि लाप्चा मार्ग बन्द, मानसरोवर–कैलाश दर्शनमा अवरोध
२०८३,साउन ११,सोमबार
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारीको लिमी क्षेत्रस्थित ताक्चीमा लिमी कर्णाली नदीको जलसतह बढेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। यससँगै लाप्चा पुगेर मानसरोवर–कैलाशको दर्शन गर्ने उद्देश्यले आएका आन्तरिक तथा विदेशी पर्यटकहरूको यात्रा प्रभावित बनेको छ।
लगातारको वर्षापछि नदीमा आएको बाढीले सवारीसाधन सञ्चालनका लागि बिछ्याइएका ह्यूम पाइप डुबाएपछि तीन दिनदेखि सिमकोट–लिमी–लाप्चा सडकखण्डमा सवारी आवागमन बन्द भएको हो। सिमकोटबाट लिमी र लाप्चातर्फ गएका सवारीसाधन ताक्चीमै रोकिएका छन् भने केही पर्यटक बाध्य भएर फर्किएका छन्।
यात्री अभिनास लामाका अनुसार नदीको बहाव ह्यूम पाइपको सतहभन्दा माथि पुगेकाले कुनै पनि सवारीसाधन वारपार गर्न सकिएको छैन। त्यसका कारण मानसरोवर–कैलाशको दर्शनका लागि लाप्चा जाने सम्पूर्ण यात्रा रोकिएको उनले बताए।
नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङले नदीमा राखिएका दुवै ह्यूम पाइप पानीले डुबाएकाले पानीको बहाव नघटेसम्म सवारी सञ्चालन सम्भव नरहेको जानकारी दिए। उनका अनुसार पैदल यात्रुका लागि झोलुङ्गे पुल भए पनि ताक्चीदेखि लाप्चासम्मको बाटो सुरक्षित नरहेकाले पैदल यात्रा पनि जोखिमपूर्ण बनेको छ।
यातायात अवरुद्ध भएपछि कम्तीमा पाँच समूहका पर्यटक लाप्चा नपुगी ताक्चीबाटै फर्किन बाध्य भएका छन्। यसले लिमी क्षेत्रको पर्यटन गतिविधिसमेत प्रभावित भएको छ।
हरेक वर्ष वर्षायाममा लिमी कर्णाली नदीमा पानीको बहाव बढ्दा यातायात अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। सोही समस्याको समाधानका लागि गत मङ्सिरमा नदीमा ह्यूम पाइप जडान गरिएको भए पनि यस वर्षको बाढीले उक्त संरचना पनि प्रभावकारी हुन सकेन।
स्थानीयवासी तथा पर्यटकहरूले लिमी क्षेत्रमा वर्षेनी दोहोरिने यातायात समस्याको दीर्घकालीन समाधानका लागि स्थायी पुल निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै लिमी वा लाप्चा जाने तयारीमा रहेका यात्रुलाई ताक्ची क्षेत्रको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीयले आग्रह गरेका छन्।