सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

फिल्को मिसन

२०८३, जेठ २९
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाका आठवटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि आयोजित एक औपचारिक समारोहबीच पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा घोषणा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


आर्थिक वर्ष २०८२/८३ मा सिमकोट गाउँपालिकाभित्र जन्मदेखि २३ महिनासम्मका ९५ प्रतिशतभन्दा बढी बालबालिकाले सरकारले निर्धारण गरेका सबै नियमित खोप प्राप्त गरेको तथ्यांक प्रस्तुत गरिएको थियो। नियमित खोप सेवाको पहुँच विस्तार गर्दै सबै बालबालिकालाई खोपको दायरामा ल्याउन सफल भएपछि गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चित गर्न स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको विशेष प्रशंसा गरिएको थियो। गाउँ–गाउँमा पुगेर बालबालिकाको अवस्था पहिचान गर्ने, खोप छुटेका बालबालिकाको खोजी गर्ने तथा अभिभावकलाई खोप लगाउन प्रेरित गर्ने कार्यमा उनीहरूले महत्वपूर्ण योगदान दिएका थिए।
‘खोज र खोप’ अभियानमार्फत खोपबाट वञ्चित हुन सक्ने बालबालिकाको पहिचान गरी आवश्यक खोप उपलब्ध गराउन सहयोग पुगेको सिमकोट गाउँपालिकाले जनाएको छ। बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न नियमित खोप सेवा अत्यन्त प्रभावकारी र आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।


गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित प्रत्येक वडामा अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गरिने बताउनुभयो।

कार्यक्रमका सहभागीहरूले पूर्ण खोप दिगोपना सुनिश्चित घोषणाले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्। बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

सिमकोट गाउँपालिकाले आगामी दिनमा नियमित खोप सेवालाई थप प्रभावकारी बनाउँदै छुटेका बालबालिकाको खोजी तथा खोप अभियानलाई निरन्तरता दिने जनाएको छ। बालबालिकाको सुरक्षित भविष्य निर्माण तथा खोप कार्यक्रमको दिगोपनाका लागि सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको समेत कार्यक्रममा उल्लेख गरिएको थियो।

प्रतिक्रिया दिनुहोस