हुम्ला प्रशासनको एक वर्षे उपलब्धि सार्वजनिक, सेवा प्रवाहमा उल्लेख्य प्रगति
२०८३,साउन ११,सोमबार
ह्ुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका सेवा, प्रशासनिक गतिविधि तथा विकास कार्यक्रमहरूको वार्षिक प्रगति विवरण पहिलो पटक सार्वजनिक गरेको छ।
सोमबार सञ्चारकर्मीसँग आयोजित कार्यक्रममा कार्यालयले एक वर्षमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सीमापास तथा अन्य प्रशासनिक सेवामा उल्लेख्य प्रगति हासिल गरेको जानकारी दिएको हो।
कार्यालयका अनुसार यस अवधिमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सर्केगाडबाट गरी २ हजार २ सय ८९ वटा नयाँ नागरिकता तथा २ हजार ६७ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ। साथै २ हजार ४ सय ६४ नयाँ सीमापास जारी र १ हजार ४ सय ३९ सीमापास नवीकरण गरिएको छ।
राहदानीतर्फ ३ सय ६५ आवेदन संकलन भई ३ सय ५४ राहदानी वितरण गरिएको छ भने २ हजार ८ सय ८२ राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ७ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको पनि उल्लेख गरिएको छ।
यस्तै, ११ मध्ये ५ वटा मुद्दा फछ्र्योट गरिएको, ५ संस्था दर्ता, ८ हातहतियार इजाजतपत्र नवीकरण तथा सयौं सिफारिस र नाबालक परिचयपत्र जारी गरिएको जानकारी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार नाम्खा गाउँपालिकाका हिल्सा, यारी, तुमकोट र यालवाङमा सञ्चालन गरिएको अस्थायी सीमापास शिविरबाट ४ सय जनाले सेवा लिएका छन्।
कार्यक्रममा सञ्चारकर्मीहरूले चंखेली गाउँपालिका–५ नेप्कामा पनि अस्थायी सीमापास शिविर सञ्चालन गर्न तथा प्रशासनिक सेवालाई अझ छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन सुझाव दिएका थिए।जिल्ला प्रशासन कार्यालयले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक रूपमा प्रस्तुत गरेको यो पहिलो अवसर भएको जनाएको छ।