परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु, हिमाली जिल्ला हुम्लामा
चैत २०, २०८२, शुक्रबार
हुम्ला । हिमाली जिल्ला हुम्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लिइएको परीक्षाका उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ। परीक्षा सकिएलगत्तै जिल्लाका विभिन्न केन्द्रमा परीक्षण कार्य थालिएको हो।
जिल्लामा रहेका ६ वटा परीक्षा केन्द्रमध्ये अधिकांश केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख खड्क बहादुर हमालले जानकारी दिनुभयो। उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यविधि ढिलो प्राप्त हुनुका साथै बिहीबार रातिदेखि मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएकाले शुक्रबार बिहानबाट मात्र परीक्षण कार्य सुरु गरिएको उहाँले बताउनुभयो। परीक्षण कार्य अनिवार्य अंग्रेजी विषयबाट सुरु गरिएको छ।

उत्तरपुस्तिका परीक्षण सुरु भएका केन्द्रहरूमा सर्केगार्ड गाउँपालिकाको हिमज्योति माध्यमिक विद्यालय, खार्पुनाथ गाउँपालिकाको सीता माध्यमिक विद्यालय (छिप्रा), अदानचुली गाउँपालिकाका विभिन्न विद्यालय, सिमकोट गाउँपालिकाको मानसरोवर माध्यमिक विद्यालय तथा बालमन्दिर माध्यमिक विद्यालय, साथै सर्केगार्ड गाउँपालिकाको कोट माध्यमिक विद्यालय (रोडिकोट) र अदानचुली गाउँपालिकाको सूर्योदय माध्यमिक विद्यालय रहेका छन्।

उत्तरपुस्तिका परीक्षणका लागि गोप्य कोठाको व्यवस्था गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। परीक्षकहरूलाई मोबाइल फोन साथमा लैजान नदिइएको जनाइएको छ।
यस वर्ष एसइई परीक्षा दिने परीक्षार्थीको संख्या एक हजार तीन सय रहेको छ। नियमिततर्फ ५१८ छात्र र ४७९ छात्रा गरी ९९७ जना सहभागी भएका छन् भने पूरक तथा ग्रेडवृद्धितर्फ १२४ छात्र र १७९ छात्रा गरी ३०३ जना परीक्षार्थीले फारम भरेका थिए। यी परीक्षार्थीहरू साधारण तथा प्राविधिक धारका हुन्।

नाम्खा गाउँपालिकामा एक मात्र माध्यमिक विद्यालय र चङ्खेली गाउँपालिकामा दुईवटा माध्यमिक विद्यालय भए पनि ती क्षेत्रमा परीक्षा केन्द्र स्थापना गरिएको छैन।
यता, ताँजाकोट गाउँपालिकाको मदानादेव माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भने उत्तरपुस्तिका परीक्षण कार्य अझै सुरु हुन सकेको छैन। सम्बन्धित विषयका विज्ञ शिक्षक बाहिर रहेकाले ढिलाइ भएको जनाइएको छ। ती शिक्षक आएपछि सो केन्द्रमा पनि छिट्टै परीक्षण कार्य सुरु हुने अपेक्षा गरिएको छ।