नाम्खाको धिगा र गाडीपारी वन क्षेत्रमा आगलागी, दुई दिनपछि नियन्त्रण

फिल्को मिसन

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर १ अन्तर्गत धिगा र गाडीपारीको वन क्षेत्रमा भएको भीषण आगलागी ।

पुस २९,२०८
हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–१ अन्तर्गत धिगा र गाडीपारी सामुदायिक वन क्षेत्रमा भीषण आगलागी भएको छ। आइतबार दिउँसोदेखि सुरु भएको आगलागीले वन क्षेत्रमा ठूलो उग्र रूप लिँदै मानव बस्ती नजिकसम्म जोखिम बढाएको थियो।


नाम्खा गाउँपालिका–१ को गाडीपारी वन क्षेत्रबाट सुरु भएको आगलागी धिगा सामुदायिक वनसम्म फैलिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिनुभयो। उहाँका अनुसार घना जंगल र भीरालो भूभागका कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो।
लगातार दुई दिनको प्रयासपछि मात्र आगलागी नियन्त्रणमा ल्याइएको अध्यक्ष लामाले बताउनुभयो। घटनास्थलमा स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रूपमा आगो नियन्त्रणको प्रयास गरेको थियो।

 तस्बिर : प्रेम बहादुर लामा
मानव बस्ती नजिक आगो फैलिँदै गए ठूलो क्षति हुन सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको थियो। पूर्ण रूपमा आगो निभाउन कठिन भए पनि निरन्तर प्रयासपछि नियन्त्रण सम्भव भएको जनाइएको छ।


आगलागी नियन्त्रणपश्चात् गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यस कठिन परिस्थितिमा अहोरात्र खटिएर सहयोग गर्ने स्थानीय बासिन्दा तथा सुरक्षा निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। दुर्गम भू–भाग, जोखिमपूर्ण अवस्था र सीमित साधनका बाबजुद ज्यानको जोखिम मोलेर आगो निभाउन खटिने सबैको योगदान अत्यन्तै प्रशंसनीय रहेको उहाँले बताउनुभयो।
उहाँले यस्ता प्राकृतिक विपद्का बेला एकता, सहकार्य र सजगताले मात्र ठूलो क्षतिबाट जोगिन सकिने भन्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस