जेनजी आन्दोलनको स्मरणमा भदौ २३ मा सडकमा उत्रिन हमालको आग्रह
काठमाडौं । राष्ट्रिय नागरिक जेनजी अभियानका अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन आह्वान गरेका छन्। उनले उक्त दिनलाई नयाँ आन्दोलनको सुरुआतका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, शहीदप्रति श्रद्धाञ्जली, घाइतेप्रति सम्मान र राष्ट्रिय एकताको सन्देश दिने अवसरका रूपमा मनाउन आग्रह गरेका हुन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारप्रतिको ऐक्यबद्धता र समग्र नेपाली जनताको एकताका लागि नागरिकहरू सडकमा उपस्थित हुनुपर्ने बताए।
“भदौ २३ गते आन्दोलन गर्न होइन, आन्दोलनको सम्झना र सम्मानका लागि जुटौँ। शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकता कायम गर्न लाखौँ नागरिक सडकमा उत्रिऔँ,” उनले भने।
हमालले गत वर्षको आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनीमार्फत राज्यविहीनताको अवस्था सिर्जना गर्ने शक्तिहरू अहिले सरकारको नेतृत्वमा पुगेको आरोप लगाए। आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका माग सम्बोधन गर्नुको सट्टा सरकार विपरीत दिशामा अघि बढिरहेको उनको दाबी थियो।
उनले प्रधानमन्त्रीको व्यक्तिगत पहिचानसँग सम्बन्धित विषयमा पनि प्रश्न उठाउँदै आफ्नै समुदाय र पारिवारिक पहिचान परिवर्तन गरेको विषय गम्भीर रहेको टिप्पणी गरे। “यस्ता पात्रले देशको प्रतिनिधित्व कसरी गर्न सक्छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ,” उनले भने।
हमालले प्रधानमन्त्रीको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति तथा परराष्ट्रमन्त्रीले सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत सन्धिको सक्कल प्रति नेपालसँग नरहेको भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। यस्ता विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएका संवेदनशील मुद्दा भएकाले सार्वजनिक बहस र छानबिन आवश्यक रहेको उनको भनाइ थियो।

उनले गत वर्षको जेनजी आन्दोलनमा भएको बलिदान र नागरिकको अपेक्षामाथि आघात पुग्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै आवश्यक परे पुनः संघर्षका लागि तयार रहेको बताए। “सरकार जुन दिशामा जानुपर्थ्यो, त्यसको ठीक विपरीत दिशामा गएको छ। अघिल्लो वर्ष जेनजी आन्दोलनका क्रममा भएको बलिदानमाथि घात गर्ने काम स्वीकार्य हुँदैन। यदि त्यस्तो अवस्था आयो भने हामी फेरि कठिन संघर्षका लागि तयार छौँ,” उनले भने।
हमालले भदौ २३ लाई विगत सम्झिने दिन मात्र नभई शहीदको बलिदान, घाइतेहरूको पीडा र शहीद परिवारको अपेक्षाप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय एकता, सुशासन र जनआकांक्षाको पक्षमा नयाँ संकल्प गर्ने अवसरका रूपमा मनाउन सबै नेपालीलाई आह्वान गरे।