गगन थापाको राजनीतिक प्रस्ताव सार्वजनिक : के छ भित्र ? (पूर्णपाठ)
पुस २८,२०८२ सोमबार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । देशको वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास, शासन प्रणाली, अर्थतन्त्र र पार्टीको भावी भूमिकाबारे केन्द्रित प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरिएको हो ।
यसअघि बन्दसत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि छलफल जारी रहँदै गर्दा गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई महाधिवेशनको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।
प्रस्तावमा मुलुकमा देखिएको राजनीतिक अस्थिरता, सरकार सञ्चालनमा देखिएका कमजोरी, सुशासनको अभाव, बढ्दो बेरोजगारी, युवाको विदेश पलायन, भ्रष्टाचार नियन्त्रण र राज्य संरचनाको प्रभावकारितामाथि स्पष्ट समीक्षा गरिएको छ । साथै, संविधानको मर्मअनुसार संघीय लोकतान्त्रिक व्यवस्थालाई सबल बनाउँदै जनताको भरोसा जित्ने दिशामा कांग्रेसले अग्रसर भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ ।
प्रस्तावमा पार्टीलाई विचार, संगठन र कार्यशैलीका हिसाबले आधुनिक र जनउत्तरदायी बनाउन आवश्यक सुधारका खाका पनि प्रस्तुत गरिएको छ । विशेषगरी आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, नेतृत्व चयनमा पारदर्शिता अपनाउने र नीति निर्माणमा युवा पुस्ताको सक्रिय सहभागिता बढाउने विषय समेटिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले प्रस्तावमाथि समूहगत छलफलपछि संशोधनसहित पारित गर्ने कार्यसूची रहेको छ । प्रस्ताव पारित भएपछि नेपाली कांग्रेसको भावी राजनीतिक दिशा र रणनीति तय हुने विश्वास गरिएको छ ।
बन्दसत्रमा देशभरबाट आएका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको छ भने नेतृत्वले महाधिवेशनलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा लिएको बताइएको छ ।