हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
मंसिर ७, २०८२
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रमा आज बिहान भालुको आक्रमणमा परी ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत, तथा सिमकोटमा बसोबास गर्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत रहेका छन् ।
आज बिहान करिब ६ः१० बजे घाँस काटिरहेका बेला जङ्गली भालुले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।
उनका अनुसार लक्ष्य र बाँचु रावतको टाउकामा गम्भीर चोट लागेको छ भने रजनी रावतको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ । तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पुर्याइएको प्रहरीले जनाएको छ ।
डीएसपी पोखरेलका अनुसार लक्ष्य र बाँचु रावतको अवस्था गम्भीर रहेको छ भने रजनीको अवस्था खतरामुक्त छ ।
स्थानीयका भनाइअनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढिरहेका छन् । सदरमुकाम सिमकोटमा भने भालुले आक्रमण गरेको यो पहिलो घटना हो । घाँस, दाउरा तथा खेतीपातीका लागि वन क्षेत्रमा जाने ग्रामीण बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गर्दछन् ।
गाउँ र बस्ती नजिक भालु देखिने क्रम बढेकाले सतर्क रहनुहोस् भन्दै प्रहरी प्रमुख पोखरेलले स्थानीयलाई आग्रह गरेका छन् । उनले वन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी जङ्गली जनावर नियन्त्रण तथा सुरक्षाका उपाय आगामी दिनमा थप कडाइका साथ लागू गरिने जानकारी दिए ।