जिल्लाको विकास, सुशासन र सीमा समस्याबारे राजनीतिक दलबीच छलफल

फिल्को मिसन

२०८३ साउन २३,शनिबार
हुम्ला । नेपाली कम्युनिष्ट पार्टी हुम्ला जिल्लाको आयोजनामा जिल्लामा क्रियाशील राजनीतिक दलहरूको बैठक सम्पन्न भएको छ। जिल्लाको समग्र विकास, सुशासन तथा सीमा क्षेत्रमा देखिएका समस्याका विषयमा केन्द्रित रहेर बैठकमा छलफल गरिएको हो।
बैठकमा हुम्लाको विकास निर्माणलाई प्रभावकारी बनाउने, जिल्लामा सुशासन कायम गर्ने तथा जनताका आधारभूत समस्या समाधानका लागि राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिकाबारे छलफल भएको थियो।


त्यसैगरी, हुम्ला जिल्लामा विद्यमान सीमा समस्याका विषयमा समेत राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै जिल्लास्थित राजनीतिक दलहरूबीच साझा धारणा र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
बैठकमा जिल्लाको विकास र समृद्धिका लागि राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो। विकास, सुशासन र सीमा समस्यालगायत जिल्लाका महत्वपूर्ण विषयमा राजनीतिक दलहरूले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकमा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस