यारी नाकाले तोड्यो पुरानो रेकर्ड, लक्ष्यभन्दा तेब्बर राजस्व सङ्कलन

फिल्को मिसन

२०८३ ,साउन ११ ,सोमबार
हुम्ला ।नेपाल–चीन सीमामा रहेको यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व सङ्कलन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
सामान्यतया कम चहलपहल हुने यस नाकाबाट आर्थिक वर्षभरिमा २० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो। भन्सार विभागले उक्त वर्षका लागि छ लाख छ हजार पाँच सय ८० रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो।

कार्यालय प्रमुख रामराज जैसीका अनुसार लक्ष्यको तुलनामा तीन गुणाभन्दा बढी राजस्व उठाउन सफल भएको कार्यालयले हिल्सा क्षेत्रमा भन्सार कार्यालय स्थापना भएयताकै सबैभन्दा उच्च राजस्व यही आर्थिक वर्षमा सङ्कलन गरेको हो।

हिल्सा–यारी नाका हुँदै चीनको ताक्लाकोटबाट हुम्लाका लागि आवश्यक दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री आयात हुँदै आएका छन्। आर्थिक वर्षभरि सिमेन्ट, छडलगायत निर्माण सामग्रीको आयात उल्लेखनीय रूपमा बढेको थियो। साथै दूध, चिया, जुस, जुत्ता, पीभीसी ब्ल्याङ्केट, लत्ताकपडा तथा खेलौनालगायतका सामग्री पनि यही नाका भएर नेपाल भित्रिएका थिए।

यसअघि आर्थिक वर्ष २०८१÷८२ मा भन्सार विभागले ८३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकोमा कार्यालयले छ लाख ५४ हजार रुपैयाँ राजस्व उठाएको थियो।

भन्सार कार्यालयका अनुसार पछिल्लो समय निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको आयातमा वृद्धि भएसँगै यारी नाकाको राजस्व सङ्कलनमा उल्लेखनीय सुधार देखिएको हो। कम आवतजावत हुने नाकामध्ये यारीले यस वर्ष हासिल गरेको राजस्व उपलब्धिलाई भन्सार प्रशासनले उत्साहजनक मानिएको छ।

प्रतिक्रिया दिनुहोस