विविधायन सौन्दर्यमा प्रकृतिको समिश्रण प्रस्तुत
चैत १५,२०८२
काठमाडौं ।काठमाडौंमा फेसन, प्रकृति र सिर्जनात्मक अभिव्यक्तिको अद्वितीय संगम प्रस्तुत गर्ने २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सम्पन्न भएको छ।~ नमूना कलेज अफ फेशन टेक्नोलोजी (NCFT) द्वारा आयोजित उक्त कार्यक्रम ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा नेपाल’मा शनिबार भव्य रूपमा आयोजना गरिएको हो।

फेशन, प्रकृति र कथात्मक प्रस्तुतिको समिश्रणका रूपमा प्रस्तुत शोले रनवेलाई जीवन्त क्यानभासमा रूपान्तरण गर्दै दर्शकलाई नवीन अनुभूति प्रदान गर्यो। फेसन डिजाइनिङ अध्ययन पूरा गर्दै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक प्रस्तुति कार्यक्रममा समेटिएको थियो।
“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट उत्पन्न हुने सौन्दर्य भन्ने मूल अवधारणामा आधारित शोमा नेपालको प्राकृतिक भू–दृश्य र जैविक विविधताबाट प्रेरित ६ वटा संग्रह प्रस्तुत गरिएका थिए। हिमाल, वन, सिमसार, वन्यजन्तु तथा पुष्पीय विविधतालाई आधार बनाएर तयार गरिएका डिजाइनहरूले प्रकृतिका विविध आयामलाई फेसन कथामा रूपान्तरण गरेका थिए।

कार्यक्रमको उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर को रनवे उपस्थितिबाट गरिएको थियो भने सम्पूर्ण कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्य ले गरेका थिए। कार्यक्रममा ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।

प्रस्तुत संग्रहहरूमा “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो”, “इरिडेसन्ट शेल्स”, “आवरण मृत्तिका”, “एभियोरा”, “रेड लिस्ट रिभेरी” र “वनस्पति कुसुम” समावेश थिए। प्रत्येक संग्रहले प्रकृतिका फरक–फरक पक्षलाई प्रतीकात्मक र कलात्मक ढंगले अभिव्यक्त गरेको देखिएको थियो।

यसै अवसरमा एनसीएफटी फेशन क्याटलगको चौथो संस्करण पनि विमोचन गरिएको थियो, जसमा पूर्वाञ्चल विश्वविद्यालय का पदाधिकारी, कलेज प्रशासन तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूको सिर्जनात्मक कार्यको मूल्यांकनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डल समेत गठन गरिएको थियो।

कार्यक्रमलाई राधा कृष्ण ज्वेलर्स, American Language Center र LIM College ले सिल्भर प्रायोजकका रूपमा सहयोग गरेका थिए। हेयर तथा मेकअप व्यवस्थापन ISAS Beauty School ले गरेको थियो भने अन्य विभिन्न संस्थाहरूको पनि सहकार्य रहेको थियो।

आयोजकका अनुसार एनसीएफटीको यो ग्राजुएसन फेसन शोले नेपाली युवा डिजाइनरहरूको सिर्जनात्मक क्षमता, सीप र दृष्टिको प्रभावकारी प्रस्तुति गरेको छ। “विविधायन सौन्दर्यम्” ले फेसनलाई केवल सौन्दर्य प्रदर्शनमा सीमित नराखी विचार, कथा र भावनाको सशक्त अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गरेको देखिएको छ।

