सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न गुरुङको आग्रह
फागुन १८, २०८२
काठमाडौं ।बेदबहादुर गुरुङले कम्युनिस्ट धारका मतदातालाई आफ्नो पार्टीभन्दा बाहिर मत नहाल्न आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का नेता गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत मतदातालाई यस्तो अपिल गरेका हुन्।
उनले कम्युनिस्ट मत विभाजित भए पनि विगतमा एमालेको मत घट्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को मत बढ्ने र माओवादीको घट्दा एमालेको बढ्ने प्रवृत्ति देखिएको उल्लेख गरेका छन्। तर यसपटकको निर्वाचनमा भने कम्युनिस्ट मत अन्य विचारधारातर्फ सर्न सक्ने सम्भावना रहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
गुरुङले लेखेका छन्, “कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ, बुर्जुवातिर सार्ने गल्ती नगरौँ। ठ्याक्कै भन्नुपर्दा सबैले मत एमालेको सूर्य चिह्नमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिह्नमा हालौँ, तर अन्य पार्टीमा नहालौँ।”
उनका अनुसार नेपालमा वामपन्थी मत बलियो भए पनि विभाजनका कारण त्यसको प्रभाव कमजोर बनेको छ। विगतमा एमाले र माओवादी एक हुँदा झण्डै दुई तिहाइ नजिक पुगेको स्मरण गर्दै उनले कम्युनिस्ट मत बाहिरिए दीर्घकालीन रूपमा वामपन्थी शक्तिहरू रक्षात्मक र कमजोर हुन सक्ने दाबी गरेका छन्।
गुरुङले कम्युनिस्ट मतदातालाई विचारधारागत एकता कायम राख्दै कम्युनिस्ट शक्तिलाई सुदृढ बनाउन सचेत निर्णय लिन आग्रह गरेका छन्।