बर्दिया–१ मा चुनाव लड्ने घोषणा गर्दै बामदेव गौतमले राष्ट्रिय सभा सदस्य पद छाड्ने

फिल्को मिसन

माघ ३, २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–१ बाट उम्मेदवार बन्ने तयारीस्वरूप राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

शनिबार बिहान गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ का मतदातासँग भएको भेटघाट कार्यक्रममा गौतमले आइतबार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने जानकारी दिएका हुन्। प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिनुपर्ने भएकाले आफूले राजीनामा दिन लागेको उनले स्पष्ट पारे।

गौतम २०७७ साल असोज १ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। उनको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिनुभन्दा एक महिना अगाडि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन तय भएको छ।

एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचन लड्दै आएका छन्। २०७० सालमा उनले प्यूठान–१ र बर्दिया–१ दुवै क्षेत्रबाट चुनाव जितेका थिए। तर २०७२ को संविधानले दुई क्षेत्रमा एकैपटक उम्मेदवारी दिने व्यवस्था हटाएपछि २०७४ सालको निर्वाचनमा उनी बर्दिया–१ बाट मात्र उम्मेदवार बनेका थिए, जहाँ कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए।

त्यसपछि केही समय निर्वाचन राजनीतिबाट टाढा रहेका गौतम पछिल्लो समय पुनः बर्दिया–१ मा सक्रिय हुँदै मतदाता भेटघाटमा जुटिरहेका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी अन्तिम चरणमा पुगेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस