हुम्लामा निर्वाचन तयारी: मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

फिल्को मिसन

माघ २, २०८२, शुक्रबार
हुम्ला । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश निलकण्ठ पराजुलीले कार्यालयको उद्घाटन गर्दै निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण निर्वाचन प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । उहाँले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास व्यक्त गर्दै त्यसका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सर्वसाधारण सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत पराजुलीले जिल्ला अदालत परिसरभित्र स्थापना गरिएको कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा समापन मन्तव्य दिँदै उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यका लागि आग्रह गर्नुभयो । साथै, मनोनयन दर्ता माघ ६ गतेदेखि सुरु हुने जानकारी दिनुभयो ।
उहाँले निर्वाचन सामूहिक प्रयासबाट सम्पन्न गरिने कार्य भएको उल्लेख गर्दै यसलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजदेखि औपचारिक रूपमा सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रमहरू उक्त कार्यालयबाट सञ्चालन हुने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाले कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार हुम्ला जिल्लामा कुल मतदाता संख्या ३४ हजार ३ सय ७२ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस