. हुम्लामा डेमो अभ्याससहित २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

फिल्को मिसन

माघ २, २०८२, शुक्रबार
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार कृत्रिम अभ्यास (डेमो) प्रदर्शन गरी २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ।
सशस्त्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोट बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रमसहित भूकम्प सुरक्षा दिवस मनाइएको हो। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भूकम्पमा आधारित कृत्रिम अभ्यास प्रदर्शन गरी दिवस मनाएको जानकारी प्राप्त भएको छ।


तीनवटै सुरक्षा निकायले भूकम्प आउँदा कसरी बच्ने, भूकम्पपछि खोज, उद्धार तथा राहत कसरी गर्ने, हिमपहिरो र आगलागीका बेला आगो कसरी नियन्त्रण गर्ने, आपतकालीन अवस्थामा कसलाई खबर गर्ने लगायत विषयमा अभ्यास प्रदर्शन गरेका थिए।
रानीवन ब्यारेकका गुल्मपति हरिबाबु श्रेष्ठका अनुसार भूकम्प आउँदा घरभित्र सुरक्षित रूपमा कसरी बाहिर निस्कने, घाइते वा घरभित्र फसेकाले कसरी सूचना दिने, उद्धार गरी नजिकको स्वास्थ्य चौकीसम्म पु¥याउने अभ्याससमेत गरिएको थियो।


सिमकोट गाउँपालिका वडा नं. ५ स्थित सिममा नमुना पात्र विगम्भ ठाकुरको घरमा आगलागी भएको परिदृश्य सिर्जना गरी प्रहरी चौकीलाई खबर गरेपछि आगो नियन्त्रण र घाइतेको उद्धार तथा प्राथमिक उपचार गरी स्वास्थ्य चौकीमा पु¥याउने अभ्यास देखाइएको थियो।
यससँगै विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री जस्तै रक हेलमेट, स्टाफ बेल्ट, स्नो बुट, क्राम्पोन, प्रुसिक, आइस पिटन, क्याराबिनर लगायत उपकरणबारे जानकारी दिइएको गुल्मपति श्रेष्ठले बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले डेमो प्रदर्शन सफलतापूर्वक सम्पन्न गरेकोमा तीनवटै सुरक्षा निकायलाई धन्यवाद दिनुभयो। उहाँले विपद् जोखिमका बेला सबै निकाय सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। नागरिक समाज मुखदर्शक मात्र नभई उद्धार कार्यमा सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
“सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल — अबको जिम्मेवारी” भन्ने नारासहित प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले हुम्ला हालै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भन्दै विकाससँगै विपद्का जोखिम बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो।


डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, सरकारी कार्यालय प्रमुख, राजनीतिक दल, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस