राउटे समुदायमा पहिलोपटक प्राथमिक उपचार तालिम

फिल्को मिसन

पुस २८,२०८२ सोमबार
सुर्खेत । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको प्राविधिक सहजीकरण र सोसेक नेपालको व्यवस्थापनमा लोपोन्मुख फिरन्ते जाति राउटे समुदायका युवाहरूलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ।
राउटे समुदायमा देखिने सामान्य तथा जटिल स्वास्थ्य समस्यालाई समयमै प्राथमिक उपचारमार्फत व्यवस्थापन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। नेपालको सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण समुदायका रूपमा रहेका राउटे जाति दैलेख, सुर्खेत, अछाम, जाजरकोट र सल्यान आसपासका जंगलमा बसोवास गर्दै आएका छन्। परम्परागत घरेलु उपचार पद्धतिले मात्र उपचार गर्दा स्वास्थ्य जटिलता बढ्ने aअवस्थालाई ध्यानमा राख्दै तालिम सञ्चालन गरिएको आयोजकले बताएका छन्।


हाल सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थित जंगलमा बसोवास गर्दै आएका राउटे समुदायका ८ महिला र ७ पुरुष गरी १५ जना युवाहरू तालिममा सहभागी थिए। तालिममा चोटपटक, आगोले पोलेको घाउ, रुखबाट लड्दा लाग्ने चोट तथा हाडभाँचिएको अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारबारे सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको थियो।
तालिमकी सहभागी काजलु शाहीले जंगलमा काठका भाँडाकुँडा बनाउने क्रममा हातहतियार प्रयोग गर्दा चोटपटक लाग्ने, रुखबाट लड्ने तथा आगोले पोल्ने समस्या हुने गरेको बताउँदै, “अब यस्ता दुर्घटना हुँदा कसरी प्राथमिक उपचार गर्ने भन्ने कुरा सिक्यौं, धेरै खुशी लागेको छ,” भन्नुभयो।


अर्का सहभागी नबीन शाहीले प्राथमिक उपचारको ज्ञान अभावमा हुने अकाल मृत्यु रोक्न तालिम उपयोगी भएको बताउँदै यस प्रकारका सीप प्रदान गर्ने संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका कार्यक्रम व्यवस्थापक राजकुमार क्षेत्रीले राउटे समुदायका लागि नेपालमा पहिलो पटक प्राथमिक उपचार तालिम सञ्चालन गरिएको उल्लेख गर्दै, “तालिममा राउटे समुदायको सक्रिय सहभागिताले आधुनिक चिकित्साप्रति विश्वास बढ्दै गएको संकेत गरेको छ,” भन्नुभयो।
तालिममा केही सैद्धान्तिक छलफलका साथै मुख्य रूपमा व्यवहारिक अभ्यास समेटिएको थियो। तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटीका प्रशिक्षकहरू यज्ञ लामिछाने, दीपक अर्याल र सम्झना खत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस