कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित, प्रदेशअनुसार सहभागिता यस्तो

फिल्को मिसन

पुस २७, २०८२
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको संख्या २ हजार ६६२ पुगेको छ । यो कुल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो ।

गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर संकलन भएको थियो । आइतबार विशेष महाधिवेशन उद्घाटनका दिन सहभागी संख्या करिब २ प्रतिशतले बढेको दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोख्रेलले जानकारी दिए । उनका अनुसार बन्दसत्र सुरु हुनुअघिसम्म सहभागी संख्या अझै बढ्न सक्नेछ ।

सचिवालयका अनुसार सोमबार बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधि दर्ता प्रक्रिया पुनः सुरु हुनेछ । आइतबारसम्म दर्ता भएका प्रतिनिधिहरूमध्ये प्रदेशगत सहभागिता यसप्रकार रहेको छः

मधेश प्रदेश : ४४६

बागमती प्रदेश : ४३२

कोशी प्रदेश : ४२५

लुम्बिनी प्रदेश : ३९८

गण्डकी प्रदेश : २९६

काठमाडौं उपत्यका : १७८

सुदूरपश्चिम प्रदेश : १५८

कर्णाली प्रदेश : १३४

भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिबाट : १९५

सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको कुल महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस