सिमकोटमा पेट्रोल पम्पको अनुगमन

फिल्को मिसन

पुस २२, २०८२
हुम्ला । आगलागिका घटना बढेपछि हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायको संयुक्त टोलीले एक दिन लगाएर अनुगमन गरेको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका प्रमुख अर्जुन जोसीका अनुसार सिमकोट बजार क्षेत्रमा आधिकारिक रूपमा दर्ता भए पनि अव्यवस्थित रूपमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको हो ।
सडक सञ्जाल पुगेपछि हुम्लामा सञ्चालनमा आएका अधिकांश पेट्रोल पम्प बस्ती तथा सडकसँग अत्यन्तै नजिक रहेको भन्दै जोखिमको अवस्था पत्ता लगाउन अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिनुभयो ।
अनुगमन आधारमा जोखिमको अवस्था पहिचान गरी बढी जोखिमपूर्ण र कम जोखिमपूर्ण पम्प छुट्याइने र आवश्यक परे स्थानान्तरण वा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाइने चन्दले बताउनुभयो । स्थानान्तरण सम्भव हुने पम्पलाई स्थानान्तरण गर्न र सम्भव नभएकालाई थप व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने तयारी गरिएको उहाँको भनाइ छ।
अनुगमनका क्रममा दुईवटा पेट्रोल पम्प आधिकारिक रूपमा दर्ता भएको र एउटा पम्प दर्ता प्रक्रियामा रहेको पाइएको छ। तर, पेट्रोल पम्प घरभन्दा अलग स्थानमा हुनुपर्ने मापदण्ड विपरीत घरसँगै जोडेर राखिएको भेटिएको छ, जसले आगलागीको जोखिम बढाएको छ ।

फोटो सभार संचारककर्मि जनक शही

बजारमै पेट्रोल तथा डिजेल भण्डारण गरी बिक्री गर्दा सम्भावित ठूला दुर्घटना हुन सक्ने भएकाले पम्प सञ्चालकहरूलाई पूर्वसचेतना गराउने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ ।
राधिका आयल स्टोर र दुर्गा भवानी आयल स्टोर आधिकारिक रूपमा दर्ता भए पनि अव्यवस्थित अवस्थामा सञ्चालनमा रहेको पाइएको छ । त्यस्तै, एमडी महादेव आयल स्टोर एण्ड सप्लायर्स दर्ता प्रक्रियामा भए पनि पेट्रोल बिक्री गरिरहेको र त्यो पनि जोखिमपूर्ण अवस्थामा रहेको पाइएको छ ।
बजारबाट करिब तीन देखि चार किलोमिटर टाढा लाक्ना र होमाने खोलानजिक पेट्रोल पम्प सञ्चालनका लागि दुईवटा भवन निर्माण गरिए पनि ती प्रयोगविहीन अवस्थामा रहेको अनुगमन टोलीले जनाएको छ । ती भवन प्रयोग नगरी बजारभित्रै पेट्रोल तथा डिजेल बिक्री गरिएको पाइएको हो ।
पछिल्लो समय आगलागीका घटनाहरू बढ्दै गएपछि सरोकारवाला निकायले जोखिम न्यूनीकरणका लागि पूर्वसचेतना अभियान सुरु गरेको जनाइएको छ । सडकसँग अत्यन्तै नजिक, बस्तीको बीचमा रहेका र तेल भर्दा सर्वसाधारणको आवागमनमा समस्या सिर्जना गर्ने पम्पहरू मानवीय दृष्टिले जोखिमपूर्ण मानिँदै आएको छ ।
यस्ता जोखिमपूर्ण पम्पहरू धेरै रहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस