जाडोयाममा चंखेली गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

फिल्को मिसन

पुस १८, २०८२
चंखेली । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाले ज्येष्ठ नागरिक तथा लक्षित वर्गका नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । जाडोयामलाई मध्यनजर गर्दै गाउँपालिकाले पालिकाभित्र स्थायी बसोवास गर्दै आएका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी तथा गर्भवती आमा, असहाय तथा अशक्त (क–वर्ग) का अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार वडा नं. ०६ अन्तर्गत पुमा, चरिगाउँ, कोर्का, मेल्छाम, मासिधारा, निमागाउँ र रातीगाउँका जम्मा १ सय ३१ जना नागरिकलाई एक–एक थान ज्याकेट वितरण गरिएको छ ।
त्यसैगरी, वडा नं. ०४ को पिप्लाङ गाउँमा रहेका ३१ जना ज्येष्ठ नागरिक, असहाय तथा अशक्त व्यक्ति, एकल महिला, सुत्केरी तथा गर्भवती महिलाहरूलाई पनि न्यानो कपडा वितरण गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष शाहीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कमजोर वर्गप्रति गाउँपालिकाको सम्मान, माया र दायित्व निरन्तर रहने बताउनुभयो ।
गाउँपालिकाका अनुसार वडा नं. ०१ देखि ०६ सम्मका सबै वडामा करिब ७ सय जना ज्येष्ठ नागरिक, लक्षित वर्ग तथा अपाङ्गता भएका व्यक्तिहरूलाई “सम्मान तथा माया कार्यक्रम” अन्तर्गत न्यानो कपडा वितरण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस