मंसिर २९, २०८२
हुम्ला । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको अवैध बिक्री–वितरण रोक्ने उद्देश्यले स्वास्थ्य कार्यालय हुम्लाले सिमकोटमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ भए पनि जिल्लामा यसबारे पर्याप्त जानकारी नहुँदा सचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चिकित्सक भीम बुढाले बजारमा आमाको दूधको विकल्पका रूपमा विभिन्न आहार तथा खाद्यपदार्थ बिक्री भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्ति तत्काल रोक्नुपर्ने बताए। आमाको दूधमा शिशुका लागि आवश्यक सबै पोषण तत्त्व हुने, रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यसको विकल्प कुनै पनि खाद्यपदार्थ हुन नसक्ने उनले स्पष्ट पारे।

निमित्त जिल्ला न्यायाधिवक्ता निसा केसीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ का कानुनी प्रावधान र यसको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गरिन्।
स्वास्थ्य कार्यालयले बजारमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण तत्काल बन्द गर्न आग्रह गर्दै ऐन, २०४९ तथा नियमावली, २०५१ को पूर्ण पालना गर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ। ‘दूध आएन’ भन्ने बहानामा बजारका दूध खुवाउने गलत अभ्यास रोक्नुपर्नेमा समेत जोड दिइएको छ।

गाउँघरमा यस्ता प्रतिस्थापन वस्तुको बिक्री–वितरण भइरहेको विषयमा अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख सरिता रावत, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला भाम रोकाया, नेकपा एमालेका उपाध्यक्ष प्रकाशबहादुर शाही, आयुर्वेद स्वास्थ्य केन्द्रकी चिकित्सक चाहना शर्मा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतले आमाको दूधको महत्व र संरक्षण आवश्यकताबारे धारणा राखेका थिए।
जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।