हनुमान ढोका देखि हुम्लाको टुलिङगाउँसम्म १९८ वटा पुरानो कोष भेटियो
मंसिर २८, २०८२
हुम्ला । काठमाडौंको हनुमान ढोका देखि हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ७ स्थित टुलिङगाउँसम्म १९८ वटा पुरानो कोष भेटिएको छ।
प्राचीन अभिलेखअनुसार, मानिसहरु काठमाडौंबाट पैदल हिँडेर तिब्बतस्थित कैलाश–मानसरवर दर्शन गर्न जाने क्रममा गोरखाली सरकारले पुरानो यातायात मार्गमा यी कोष राखेको देखिन्छ । यद्यपि, नेपाल सरकारको प्रशासनले यस मार्गको ऐतिहासिक महत्वलाई अहिलेसम्म पर्याप्त ध्यान दिएको छैन ।
हुम्ला नेपालको ऐतिहासिक प्रवेशद्वारका रूपमा महत्व राख्दछ । हनुमान ढोकाबाट पश्चिम–उत्तरतर्फ जाने मार्गमा सुर्खेतको काँग्रेविहार, दैलेखको श्रीस्थान ज्वाला, जुम्लाको चन्दनाथ, सिँजा हुँदै मुगु र अन्ततः हुम्लासम्म पुग्छ । सो मार्गले नेपाली भूभागमा सशस्त्र संघर्ष, स्थानीय उत्पादन, सांस्कृतिक आदान–प्रदान र आर्थिक लेनदेनका लागि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यात्रुहरूले दिनभरि पैदल हिँडेर कोष स्थापना गरेको पनि इतिहासमा उल्लेख छ ।
टुलिङगाउँका स्थानीय बासिन्दाले अबको पुस्ताको लागि पुरानो कोष सम्बन्धी अभिलेखलाई डिजिटल तथा कागजी दुवै रूपमा सुरक्षित राख्न, साथै भौगोलिक आवश्यकता अनुसार दीगो आर्थिक योजना बनाइदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।