ट्राफिक नियमबारे विद्यार्थी र सरोकारवालामा सचेतना कार्यक्रम
मंसिर २९, २०८२
हुम्ला । ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका–६ स्थित मानसरोवर नमुना माध्यमिक विद्यालयमा सञ्चालन भएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास कार्यालय प्रमुख तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुखले सहजीकरण प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुखले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई बालविवाह, बहुविवाह र ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण गरेका थिए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोटकी वरिष्ठ अनमी सरिता बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमकोट गाउँपालिका कर्मचारी, विद्यालयका शिक्षक–विद्यार्थी तथा हुम्लाका संचारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।
प्रहरी प्रमुखले कार्यक्रममा मदिरा सेवन गरी सवारी साधन चलाउँदा हुन सक्ने क्षति, ट्राफिक नियम उल्लंघन गर्दा तिर्नुपर्ने जरिवाना, पैदल यात्रुले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी तथा सवारी चालक अनुमति पत्रबिना सवारी साधन चलाउँदा हुने जोखिमका विषयमा उपस्थितलाई प्रशिक्षण दिएका थिए ।
हुम्ला जिल्लामा पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएको सन्दर्भमा विद्यार्थी, स्थानीयवासी र सरोकारवालालाई ट्राफिक नियमबारे जानकारी दिन यो कार्यक्रम सञ्चालन गरिएको हो ।