खार्पुनाथमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन
खार्पुनाथमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सुरु, पहिलो दिन १२५ जनाले लिए उपचार सेवा
मंसिर २८, २०८२
सिमकोट – खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरको पहिलो दिन १२५ जना बिरामीले उपचार सेवा लिएका छन्।
शिविर स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख विशेषज्ञ चिकित्सक डा. उमाकान्त तिवारीको नेतृत्वमा चलाइएको हो। हेल्थ अस मेडिकल सेन्टर, जो सदरमुकाम सिमकोटमा स्थापना भएको छ, दुई दिनसम्म यस शिविरको आयोजन गर्दैछ। सेन्टरका प्रमुख नारायण फडेराले जानकारी दिए।
शुक्रबार बिहान १० बजे उद्घाटन समारोहको क्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले सबै सेवाग्राहीलाई शिविरको अधिकतम सदुपयोग गर्न आग्रह गरे। उनले भने, “गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध भएको अवसर महत्वपूर्ण छ।”
डा. उमाकान्त तिवारीले शिविर सफल बनाउन सबैको सहयोग आवश्यक भएको बताए। उनले खार्पुनाथमा चिकित्सक सेवा स्थायी रूपमा सञ्चालन गर्ने सम्भावनाबारे पनि सुझाव दिएका छन्।
यसअघि सेन्टरको सञ्चालक समितिले खार्पुनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो। जिल्ला अस्पतालबाट डा. तिवारीको नेतृत्वमा तीन जना चिकित्सक र सेन्टरको टोली उपचारका लागि गाउँ पुगेका छन्।
शिविरमा स्त्रीरोग, बालरोग, भिडियो एक्स–रे लगायतका सेवाहरू प्रदान गरिनेछ। आवश्यक औषधि निःशुल्क वितरण गरिनेछ भने बाँकी औषधि गाउँपालिका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिने सेन्टरले जनाएको छ।यस वर्ष सेन्टरले आयोजना गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो। यसअघि सिमकोट गाउँपालिका–१ र २ तथा खार्पुनाथ गाउँपालिका–५ को ताक्लाबाम्टालाई लक्षित गरी गत जेठमा दुई दिने शिविर सञ्चालन गरिएको थियो। त्यस्तै, सिमकोट गाउँपालिका–७ र ८ का लागि गत भदौमा पनि दुई दिने शिविर सञ्चालन गरिएको थियो। यी शिविरहरूका लागि सेन्टरका फाउन्डर तथा खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँ निवासी ग्वामसिंह भण्डारीका छोरा चिकित्सक डा. हर्कसिंह भण्डारीले आर्थिक सहयोग गर्दै आएका छन् ।