महिला हिंसाको १६ दिने अभियान सिमकोटमा समापन

फिल्को मिसन

मंसिर २५, २०८२
हुम्ला । महिला हिंसाको १६ दिने अभियान आज विधिवद्ध रूपमा समापन भएको छ। सिमकोट गाउँपालिकाले यसअघि वडा–वडामा विभिन्न कार्यक्रम गरी मनाएको उक्त अभियानको समापन र्याली निकालेर जिल्ला समन्वय समितिमा कोणसभाको रूपमा सम्पन्न भएको हो।
समापन कार्यक्रममा स्थानीय महिला र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीबीच महिला हिंसा सम्बन्धी देउडा गीत प्रस्तुत गरिएको थियो। साथै, सिमकोट गाउँपालिका वडा नं. ५ मा स्थापना भएको बालमन्दिर र वडा नं. ६ मा रहेको मानसरोवर नमुना माध्यमिक विद्यालयका दुई छात्राले महिला हिंसा सम्बन्धी बक्तृत्वकलामा प्रस्तुति दिएका थिए। उनीहरूलाई सहभागिताको सम्मानस्वरूप प्रत्येक छात्रालाई १ हजार रूपैयाँ प्रदान गरिएको थियो।
त्यसैगरी, सिमकोट गाउँपालिका वडा नं. ३ र ४ का महिलाहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए। देउडा गीतमा सहभागी हुने महिला समूहलाई प्रत्येक समूह ५ हजार रूपैयाँको पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रम सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले संचालन गरेका थिए। कार्यक्रमको अध्यक्षता सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुशिला रोकायाले लगायतका सुरक्षाकर्मि,संचारकर्मिहरु उपस्थित थिए ।
अध्यक्ष विजय भण्डारीले भने, “हुम्ला जिल्लामा महिला हिंसाको न्यूनिकरण अझै पर्याप्त भएको छैन। महिला–पुरुषबीचको भेदभाव कायमै छ, छाउपढी प्रथा कायम छ र राजनीतिक दलहरूले महिला उच्च पदमा आउन कठिनाइ गरिरहेका छन्।”
कार्यक्रमका क्रममा उपाध्यक्ष शुशिला रोकायाले सरकारी कार्यालयका कर्मचारीहरूको उपस्थिती नहुनु दुःखद विषय भएको बताइन् ।
प्रहरी प्रमुख डिएसपी संकर खड्काले पनि महिला हिंसाका घटनामा पीडितले जिल्ला प्रहरी कार्यालयमा आउन सक्ने, त्यहाँ छुट्टै महिला सेल रहेको र आफैं पीडितको हकमा सधैं लाग्ने व्यवस्था भएको बताए ।
१६ दिने महिला हिंसा विरोधी अभियानको समापनको दिन आज सिमकोटका महिलाहरूले हर्षोल्लासका साथ दिवस मनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस