फिल्को मिसन

मंसिर २५, २०८२
हुम्ला । सिमकोट गाउँपालिका–७, डाँडाफयाको गोठालीस्थित एक घर नजिकै आगलागी भएको छ ।
विहान करिब ८ बजेतिर मनबहादुर शाहीको घरमा पकाउने चुलो (हिटर) बाट उठेको चिंगारीले घर पछाडि रहेको गाई–वस्तुका लागि राखिएको घाँसको कुनियामा आगो सल्किएपछि घाँस पूर्णरूपमा जलेर नष्ट भएको छ । तर, घरलाई भने स्थानीयको सहयोगमा बचाउन सफल भएको छ ।
आगो नियन्त्रणमा नेपाल सेना, नेपाल रेडक्रस सोसाइटी कर्णाली उपशाखा डाँडाफया, स्थानीय बासिन्दासहितको टोली खटिएको थियो। उनीहरूको सक्रियतामा आगो घरमा फैलिन नपाई नियन्त्रणमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका कोषाध्यक्ष मन्दिर सिंहले जानकारी दिए ।उनका अनुसार शाहीको घर आसपास राखिएका केही सामग्री जलेर नष्ट भए पनि ठूलो क्षति हुन पाएन । आगलागीको खबर पाएलगत्तै नेपाली सेनाको अग्नि नियन्त्रण टोली घटनास्थलमा पुगेर आगो निभाउने कार्य सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।
आगो कसरी लागेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विहानको समयमा घटना भएकाले धनजन तथा मानवीय क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस