पोखरा विमानस्थल घोटाला—५५ जनाविरुद्ध ८ अर्बको भ्रष्टाचार मुद्दा
मंसिर २१,२०८२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको नतिजा निकाल्दै ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार आज दायर मुद्दामा सो रकम बिगो ९राज्यलाई परेको क्षति० कायम गरिएको हो।
मुद्दामा ५ जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको छ–जस्मा नेपाली कांग्रेसका रामशरण महत,नेकपा एमालेका भीम आचार्य तत्कालीन माओवादी नेताहरू स्व। पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ र दीपक अमात्य र बोगटीको मृत्यु भइसकेकाले बिगो असुलका लागि उनकी पत्नी राममायालाई प्रतिवादीमा राखिएको छ। दश जना पूर्वसचिव तथा अन्य उच्च अधिकारी पनि संलग्न रहेको मुद्धा दायरे गरेको छ । त्यसबाहेक मन्त्रीहरूका समयमा काम गरेका १० जना पूर्वसचिव, सहसचिव, नागरिक उड्डयन प्राधिकरणका अधिकारी, सञ्चालक समितिका सदस्यसहित ठूला संख्यामा अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ।
यसमा निलम्बित महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारीलगायत पनि छन्। यी दुवैजनामाथि नलिन्चोक हेलिपोर्ट निर्माणमा पनि अनियमितताको मुद्दा चलिरहेको छ।
पोखरा विमानस्थल चीनको ऋण सहयोगमा निर्माण गरिएको राष्ट्रिय गौरवको आयोजना हो। यो आयोजनामा अनियमितता भएको भन्दै मुद्दामा २ जना चिनियाँ नागरिक र एक चिनियाँ कम्पनीलाई पनि समावेश गरिएको छ। यो विमानस्थल घोटालासम्बन्धी विषयलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिले गत वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो।
त्यसपछि अख्तियारले विस्तृत अनुसन्धान गरी आज मुद्दा दायर गरेको हो।