हुम्लाको दुर्गम गोप्कामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन
मंसिर १५, २०८२
हुम्ला। हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित दुर्गम बस्ती गोप्का गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमै सेवा सुरु भएपछि स्थानीयवासीले वर्षौँको कठिनाइबाट मुक्ति पाएका छन् ।
पहिले स्वास्थ्य संस्था नभएकाले बिरामी परेपछि एक घण्टा पैदल हिँडेर लाली स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता थियो। अब भने गाउँमै उपचार सेवा उपलब्ध भएपछि विशेषगरी वृद्ध, अशक्त, महिला तथा बालबालिकालाई ठूलो राहत पुगेको स्थानीय प्रकाश विष्टले बताए ।
स्थानीय महिला जुनकुरा बोहराले विगतमा उपचार तथा औषधि लिनकै लागि लामो दूरी हिँड्नु पर्ने बाध्यता रहेको बताउँदै, “अब गाउँमै सुविधायुक्त भवन बनेको छ, स्वास्थ्यकर्मी पनि खटिएका छन्, सेवा धेरै सहज भएको छ,” भनिन् ।
आइतबार ७९ वर्षीया वृद्धा केरसिंह बुढाको उपचारसँगै केन्द्रको औपचारिक उद्घाटन गरिएको छ। दुई सय घरधुरी रहेको गोप्का गाउँमा पहिलोपटक नियमित स्वास्थ्य सेवा उपलब्ध भएको हो ।
गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न युवा नेता खेम खड्काको महत्वपूर्ण पहल रहेको स्थानीयले उल्लेख गर्दै उहाँप्रति आभार प्रकट गरेका छन्। खड्काले केन्द्रलाई संरक्षण गर्दै सेवालाई अझ प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक हुने बताए । निकट भविष्यमै बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह, वडा अध्यक्ष जयबहादुर शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक शाही, स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाही तथा स्थानीयवासीको उपस्थिति रहेको थियो
संघीय अनुदानबाट रु ३८ लाखमा चार कोठे भवन निर्माण गरिएको हो। केन्द्रमा हाल एक अनमी, एक अहेब र एक कार्यालय सहयोगी गरी तीन जनाले सेवा प्रदान गरिरहेका छन् ।