पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

फिल्को मिसन

मंसिर १२, २०८२
काठमाडौं। पत्रकार दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले ‘बारुद र मसीको घोल नै युद्ध पत्रकारिता हो’ भन्दै जनयुद्धकालीन पत्रकारितामा भएका जोखिम र योगदानप्रति सम्मान व्यक्त गरे । जनयुद्धका क्रममा आफूले पनि पत्रकारिता गरेको स्मरण गर्दै उनले भने, ‘बन्दुक र कलमको समायोजन, लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोलको सम्मिश्रण नै आजको गणतन्त्र हो ।’
अध्यक्ष दाहालले जनयुद्धका पत्रकार मात्र होइन, मूलधारका सञ्चारकर्मीहरूले पनि परिवर्तनका प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जनयुद्धकालीन पत्रकारिता मिसन पत्रकारिता भएको र अहिले पनि नेपालमा मिसन पत्रकारिता आवश्यक रहेको बताइन् । जनयुद्धका वर्षमा सञ्चार माध्यममाथि राज्यद्वारा दमन भएको र अहिले चौतर्फी आक्रमण भइरहेको भन्दै उनले भनिन्, ‘नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न राज्य र सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्छ ।’
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास सबभन्दा व्यापक रूपमा माओवादी जनयुद्धका समयमा भएको बताए। उनले त्यस अभ्यासको संस्थागत दस्तावेजीकरण आवश्यक रहेकोमा जोड दिए ।
लेखक तथा पत्रकार दीपेन्द्र शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकार संलग्न भएर युद्ध पत्रकारिता गरेको र त्यस समयका अनुभव, जोखिम र योगदानलाई व्यवस्थित रूपमा दस्तावेज पार्ने उद्देश्यले पुस्तक तयार पारेको बताए । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा सक्रिय भएका शर्माले आफ्नो युद्ध पत्रकारिता यात्रालाई सात अध्यायमा समेटेर पुस्तक तयार पारेका छन् । पुस्तकमा मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक संघर्ष, तथा जनयुद्धका विविध गतिविधिको विस्तृत विवरण समेटिएको समीक्षकहरूले बताए ।
यसअघि लेखक शर्माको पहिलो पुस्तक ‘जुनिदेखी पिलिसम्म’ २०८१ भदौमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकार्पण गरेका थिए। शर्मा प्रेस सेन्टर नेपालका पूर्व उपमहासचिव तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस