काँग्रेस नेता मोहम्मद अफताब आलमको निध

फिल्को मिसन

कार्तिक २२, २०८२
रौतहट । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिबार बिहान निधन भएको छ। ६० वर्षीय आलमले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा अन्तिम श्वास फेरेका हुन् ।
राजपुर नगरपालिकाका नगरप्रमुख तथा उनका छोरा राजिक आलमका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि विगत केही दिनदेखि आलमलाई भेन्टिलेटरमा राखिएको थियो। अवस्था सुधार नआएपछि केही दिनअघि उनलाई भारतको दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो। चिकित्सकले घरमै राखेर उपचार गर्न सुझाव दिएपछि उनलाई पुनः नेपाल ल्याइएको थियो
रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेश र मुस्लिम समाजका प्रभावशाली नेताका रूपमा परिचित थिए। उनी २०५६ र २०६४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा श्रम तथा रोजगार मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोट र इँटाभट्टा हत्याकाण्डमा संलग्नताको आरोपमा उनी जन्मकैदको सजायपछि करिब ६ वर्ष जेलमा रहे। उच्च अदालतले गत जेठमा उनलाई रिहा गरेको भए पनि मुद्दाको अन्तिम निर्णय भने अझै हुन बाँकी छ।
जेल जीवनकै क्रममा उनको मृगौला, मस्तिष्क र पाचन प्रणालीसम्बन्धी समस्या देखिएको थियो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि लगातार उपचार भइरहेका आलमको अन्ततः निधन भएको हो। उनको पार्थिव शरीर काठमाडौँबाट रौतहट ल्याइने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस