सिमकोटमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु हुदै

फिल्को मिसन

कार्तिक २१, २०८२
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकामा “अध्यक्ष कप खेलकुद प्रतियोगिता” आयोजना हुने भएको छ। यही कार्तिक २२ गतेदेखि २९ गतेसम्म विभिन्न खेलका प्रतियोगिता सञ्चालन गरिने भएको आयोजकले जानकारी दिएको छ।

रामदेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारीका अनुसार गाउँपालिका स्तरका पुरुष भलिबलसहित महिला र पुरुषका गरी १३ वटा विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिने छन्। उनले सबै विद्यालयका खेलाडीलाई खेलमा सहभागिता जनाउन आग्रह पनि गरेका छन्।

यसअघि हरेक वर्ष सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो वर्ष नहुने भएपछि, सिमकोट गाउँपालिकाले पहिलो पटक “अध्यक्ष कप” सञ्चालन गर्न लागेको हो।
गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यका अनुसार प्रतियोगिताका सबै तयारी पूरा भइसकेका छन्।

उनका अनुसार गाउँपालिकाभित्रका सातै वटा माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाउनेछन्। ट्र्याक, फिल्ड र भलिबल लगायतका १३ खेलमा छात्र र छात्रा बीच छुट्टाछुट्टै प्रतियोगिता हुने छन्।

यस प्रतियोगिताको आयोजना जिम्मेवारी यस वर्ष रामदेव माध्यमिक विद्यालयलाई दिइएको छ भने आर्थिक सहयोग सिमकोट गाउँपालिकाबाट प्राप्त भएको शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस