प्रहरीले दर्ता गर्न मानेन बालेन र सुधन विरुद्धको उजुरी

फिल्को मिसन

कार्तिक २०, २०८२ ।
हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेन्जी आन्दोलनका नाइके सुधन गुरुङ विरुद्धको उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।
अनेरास्ववियु हुम्लाका संयोजक सविन बोहराका अनुसार भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी र जनधनको क्षतिको जिम्मेवारका रूपमा शाह र गुरुङलाई तोक्दै हुम्लाबाट उजुरी दर्ता गर्न टोली कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।
तर प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेको अनेरास्ववियुका केन्द्रीय सदस्य छक्क लामाले बताएका छन्। उनका अनुसार देशका विभिन्न जिल्लामा शाह र गुरुङविरुद्ध उजुरी दर्ता भइरहेका बेला हुम्लामा उजुरी नदर्ता हुनु प्रश्नवाचक भएको हो ।
उक्त विषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले हुम्लामा कुनै भौतिक क्षति नहुँदा उजुरी दर्ता नगर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार, “देशका अन्य जिल्लामा क्षति भएका घटना दर्ता भइरहेका छन्। हुम्लामा भने हालसम्म त्यस्तो घटना नभएकाले उजुरी दर्ता हुँदैन। तर उजुरीका विवरण लिएर अध्ययन गर्न भने हामी तयार छौं,” उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस