सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

रुपा देवकोटा

माघ २४,२०८१
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा सुत्केरी व्यथा लागेकी एक महिलाको आज हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेत लगिएको छ ।
अदानचुली गाउँपालिका –२ महत गाउँकी ३१ वर्षीया असली महतारा लाई सुत्केरी व्यथा लागेर  थप उपचारका लागि सुर्खेत लगिएको हो ।
महताराकोे स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको श्रीनगर स्वास्थ्य चौंकीका अहेव अशोक महताराले बताउनुभयो । “स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको हो”, उहाँले भन्नुभयो, “महतरालाई माघ २३ गते विहाना ५ बजेतिर सुत्केरी व्यथा लागेको दुई दिनसम्म पनि सुत्केरी हुन नसकेका कारणले सुर्खेतमा रिफर गरिएको हो ।”

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि’ अनुसार हवाई उद्धार भइरहेको छ ।
कार्यविधिमा धेरै दिन प्रसव व्यथा लागेको, बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको, रक्तअल्पता भएको, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीलाई हवाई उद्धार गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस