च्याक्पालुङ्गमा भेटिएनन् च्याक्पाहरू

साउन २२,२०८१ मंगलबार
च्याक्पालुङ्ग शब्द आफैमा अनौठो छ र त यसले चर्चेको विशाल पठार क्षेत्रलाई पनि च्याक्पालुङ्ग भनिन्छ । यो पठारसँग ऐतिहासिकालिन रेशमी राजमार्ग र कर्नालीको विशाल खश साम्राज्यलाई सम्पन्न बनाउने उत्तर दक्षिण राजमार्गलाई काखमा राखेको लामो स्मृति छ तर यो कुरा पछिल्लो पुस्तालाई जानकारी नहुँदा एक विस्मरणको कथा बन्दै गएको छ । यहाँ यसको बारेमा केही मात्रामा भए पनि चिनाउने प्रयास गरेका छौं आउनुहोस् हामी लागौं च्याक्पालुङ्गतिर ।
लिमीको टाक्चीको काखमा रहेको पुल्की हिमालको काखबाट चाहे तपाई हिंडेर जानुस्, चाहे गुडेर जानुस् । सकिन्छ भने उडेर जानुस् तर एक पटक सकभर जीवनमा अवश्य जानुस् च्याक्पालुङ हुँदै लाप्चा भञ्ज्याङ्गको प्राकृतिक मनोरम तथा स्वर्गीय आनन्द लिन ?
के तपाईलाई थाह छ यहाँ त महाभारत युद्ध सकिएपछि पाँच पाण्डवहरू यही बाटो भएर कैलास पर्वततिर लागेका थिए । राजा मान्धाता, ग्याल्बु गेशर, ग्याल्बु नोर्जाङ्ग, न्याओओम्फा, सेन्राव मिवो चे, दतात्रेय, व्यास, कपील मुनी, पदम सम्भव तथा हाडेखोली र अन्य धेरैहरू यो बाटो भएर आवतजावत गर्ने गरेका छन् । यसका साथै देवराज, नागराज, अशोकचल्ल, पृथ्वीमल्ल, मलयवर्मा, बलिराज, सोभानसाई लगायतका योद्धाहरूले यहाँ पाइला हालेका थिए । यसैले पनि यो स्थान ऐतिहासिक स्थल पनि हो । विभिन्न प्रकारका पौराणिक गाथाहरू आफुसँग सँगालेर राखेको छ । खास गरी यो बाटो इतिहास पुरुषका साथै तेत्तीस कोटा देवदेवीहरूको धार्मिक तथा सांस्कृतिक पदमार्ग पनि हो । योसँग भाषिक पुरातत्व, सांस्कृतिक मानवशास्त्र, पर्यावरणीय समाजशास्त्र आदिको खुला विश्वविद्यालय पनि हो ।
लिमी आफैमा अनैठो छ । अनमोल छ । अपरम्पार छ । लिमीमा पनि बैंक छ भन्दा हामी सबैलाई अचम्म लाग्ला तर लिमीमा व्यवस्थित बैंक छ । जसको लेखाजोखा स्थानीयहरूले वर्ष दुई पटक सामुदायिक सभाबाट पारित गरेर जिम्मेवारी हस्तान्तरण र बाँडफाँट गर्ने चलन रहेको छ । यो प्रचलनले बैंकको सञ्चालन र परिचालन गर्ने हुनाले लिमीको स्थानीय भाषामा यसलाई ङुलखाङ्ग भनिन्छ । ङुलको अर्थ नगद र खाङ्गको अर्थ घर हुन्छ । यसको शाब्दिक अर्थ पैंशा, नगद र रुपैंया राख्ने घर हो ।
यो व्यवस्था र प्रथाले लिमीको जनजीवन खोजीयोग्य बनाएको छ । हेर्न लायक भएको छ र छ स्पर्श गर्न पनि लालायित छ लिमी । यसलाई बैंक, वित्तीय संस्था र सहरकारी संस्थाहरूभन्दा पनि अब्बल व्यस्थापनको नमुना मान्न सकिन्छ । यसले नगद र जिन्सी दुबै कारोवार गर्ने गरेको छ ।
लिमी गाउँको आफ्नै प्रकारको रेखठेक छ । आफ्नै किसिमको रीतिथीति रहेको छ भने आफ्नै प्रकारको चालचलन रहेको छ । र त लिमी फरक छ । पृथक छ । अनौठो छ । अनमोल छ । मौलिक छ लिमी । लिमीको नाउँमा चिनिएको छ । लिमीको शाब्दिक अर्थ भनेको दोभानको बस्ती हो ।
यहाँका तीनै गाउँ तीन साना ठूला हिंमनदीको दोभानमा रहेका छन् । तर पनि यीन तीनै गाउँ हालको अवस्थामा पुर्नःवास भएर बस्ती भएको जानकारी स्थानीयस्तरमा खोजी गरिएका विभिन्न कारणहरूले प्रमाणित हुन्छ ।
यहाँ डाक्टर हैन की आम्चीको हात र साथमा विश्वास गरिन्छ । गोर्खालीको हैन सचिवको उपस्थिति रहेको छ । मास्टर हैन स्थानीय गुरुको भरोसा छ । नेपालमा लामो समय स्थानीय चुनाव भएन तर लिमीमा त्यो समयमा चार पटक स्थानीय चुनाव भएर आफ्ना जनप्रतिनिधिहरू छान्ने गरिएको प्रमाण छ । संघीयतापछि समायोजनको नाममा गाउँमा भएका विद्यालयहरु बन्द गरेर बालबालिको पढन पाउने अधिकारलाई गाउँको सिंहदरबारले बञ्चित गरेको छ ।
यहाँको भूगोल पाँच हजार मिटरको अग्लो स्थानमा रहेका छन् । यी हिमालका काखहरूमा विशाल र सुवासित जडिबुटीहरूको मग्मग बास्नाले मन्त्रमुग्ध गराउँछ । हिउँदको समयमा चीसो चीसो सिरेटोमा हिउँको काम्लो बिच्छयाइएको हुन्छ । तर पनि हिउँद होस् कि वर्षा यहाँ कम्तीमा पनि १५२० नटको हावाले निरन्तर स्वागत गरिरहेको हुन्छ मात्र समय र मौसम फरक । यसको काखमा हजारौं प्रकारका जडिबुटीहरूले सजीव तथा निर्जीवहरूलाई जीवनदान दिने गरेको छ । हिउँदमा त सम्भवतः माइनस् २०देखि ५० डिग्रीसम्म तापक्रम हुन्छ । बाहिर चीसो, भित्र तातोमा पलपल बातो हाल्ने अर्थात् मानवीय स्पर्शले बाँचेको हुन्छ ।
यहाँ १२ सय वर्ष पुरानो बौद्ध धर्मभित्रको ब्रजयान सम्प्रदायको एक हाँगो डिगुंग कग्युत बौद्धमत जीवन्त रहेको छ । यो गुम्बाको खास नाम रिन्छेलिन थुक्थने डिगुंग कग्युत गुम्बा रहेको छ । यहाँ मनाइने चाडपर्व तथा उत्सवहरूमा लोसार, रिम्जा, मिल्हो, काङनी, बुस्याक, दुईसोमा, जीप्चुसिग्र्वा, सेदुई, गलीत आम्ज्यात, रिम्जु, कुन्टीक, माने, कन्ग्युर, तन्ग्युर, नारोक, सोल्गा, धिरीम, च्याज्याम, सेर्बु रेक्री री स्याक, ग्याल्बु ग्यापु र टासी ज्याल्दार र म्हिपुयोक्ताहरू रहेका छन् । विशेष गरेर लिमी गाउँमा एक दिनदेखि ४५ दिनसम्म मनाइने चाडपर्वहरू रहेका छन् । यी पर्वहरूमा शुभ तथा अशुभ कामका लागि विभिन्न प्रकारका रहेका छन् । हिउँदको समयमा लिम्यालहरू यसैमा व्यस्त हुन्छन् ।
कालान्तरमा हुम्ला जिल्ला विशाल १२ भोट ङरी, गुगे, मङयुल, पुराङ लगायतका तिब्बती क्षेत्रहरूको लागि अन्नदाता थियो । हुम्ला जिल्लाका विभिन्न गाउँठाउँहरूबाट विभिन्न प्रकारका अन्नबालीहरू लिएर नुन तथा ऊनसँग साँट्ने चलन थियो । चीनमा साम्यावादी शासन आएपछि भोकमरी हुने तिब्बतको राजनीतिक र सामाजिक जनजीवन एकै पटक माथि उठ्यो आयतकर्ता निर्यातकर्तामा फेरिन पुग्यो ।
नाइकोर्बाहरूको गुम्बा धार्मिक सेना हुन् । पछि पछि भोकमारी हुँदा उनीहरू अनुचित काममा संलग्न भएर परिभाषा पनि फेरियो । यिनी नाइकोर्बाहरूले स्थानीय ब्यापारीहरूबाट लुटेर लिएका सामाग्रीहरू केही प्रतिशत अनिवार्य गुम्बारू दिनुपर्ने वाध्यकारी प्रावधान रहेको थियो । तिब्बतका स्थानीय गुम्बाहरूको संरक्षण गर्न नाइकोर्बाहरूको व्यवस्था गरिएको हुन्थ्यो । जसलाई धार्मिक सेना पनि भनिन्थ्यो ।
यी नाईकोर्बाहरूलाई घोडा चढ्न, तरबार तथा अन्य विभिन्न प्रकारका कुराहरूको तालिमको अनिवार्य व्यवस्था गरिन्थ्यो । यिनीहरूलाई शक्तिशाली गुम्बाहरूले वर्षभरीका लागि अन्नपातहरू र अन्य सामाग्री संकलन गर्नका आधिकारीक रुपमा पञ्चछापको व्यवस्था गरिएको हुन्थ्यो । यो वा त्यो काम सफलतका साथ दिने हिमालको एक विशाल चौर, पठार क्षेत्रको नाम पटक पटक फेरीए पनि हालसम्मको एक मात्र चर्चीत नाम हो च्याक्पालुङ्ग ।
कालान्तरमा हिमाल वारपार व्यापारको आधारस्तम्भ बनेको लिमी पशुपालन व्यवसाय र वस्तुविनिमय प्रणालीको मुख्य स्थान मानिन्थ्यो तर चीनको बढ्दो आर्थिक प्रगतिको चेपुवा र साम्यवादी शासनको प्रभावमा परेर यताको व्यापार प्रणाली धराशायी भएको छ । यसले यहाँका स्थानीयहरूलाई अरु ठाउँमा सकभर स्थायी रुपमा नभए अस्थायी रुपमा भए पनि बसोबास गर्न गराउन वाध्य बनाएको छ ।
अबका केही दशकमा लिमी मानववस्ती विहीन हुने आशंका बढ्दै गएको छ । शहर गएको जनशक्ति गाउँ फर्केर ध्वाँग अर्थात स्थानीयस्तरमा बस्नुभन्दा पनि विदेश पलायन हुने अवस्था आएको छ । पुरानाहरू आफु र आफ्नो मातृभूमिको मायामा कतिन्जेल धड्कन स्पर्श गरेर बस्ने हृदयविदारक कुराहरू छचल्कन थालेका छन् ।
तिब्बतसँग जोडिएका उर्बर र पोषिला चरन क्षेत्रहरू पशुवस्तुको लागि निषेध भएपछि लिम्यालहरूको जनजीवनमा भुँईचालो गयो । नयाँ व्यवसायको खोजीतिर लाग्न वाध्य भएका लिम्यालहरूले चीरु र फुरुतिर हात लम्काए । यो एक खोजी भए पनि सबै लिम्यालका लागि यो सम्भव भने छैन । यहाँको कष्टकर जीवनमा व्यथा थपेको छ । जेथा हराएको छ । समाजमा विभेदको रेखा गहिरो रुपमा कोरेको छ । यसको स्पष्ट दरार फुरु र चिरु हो । अब त गाडी पुग्यो । साडी पुग्ने अवस्थामा छ र राडी भने हराउँदै गएको छ । साँच्चै स्थानीय जनशक्तिले प्रयास नगरेमा लिमी लिमी मात्र नभएर रिमिझिमी अर्थात् वेहाल हुने अवस्थामा रहेको छ ।
बाहिरबाट जाने मानिसहरूका लागि यहाँका सबै कुराहरू अनौठो लाग्दछन् । उच्च भूगोलभित्रको यो मानववस्तीमा न त सञ्चार छ न त सरकारको कुनै निकाय छ । न त देश छ । न छ कुनै सेवा सुविधाहरूको निमेष । मात्र छ नागरिकताको खोस्टोको अधमरो प्रमाणपत्र । यसले त झन् व्यथाको कथा बोकेको छ । कथाको व्यथा बोकेको छ । राजधानीका लागि यो क्षेत्र, यो भूगोल, यो सामज, यो गाउँ, यो ठाउँ अनकण्टार रे तर लिम्यालहरूको बोलीमा त राजधानीर र सदरमुकाम पो त दुर्गम हो । त्यहाँ न त मानवीय संवेदना छ । न त मानवता छ तर पनि मानववस्ती भने रहेको छ । बाहिर जति सुन्दर छ । भित्र त्यति कुरुप छ ।
यहाँ अहिले पनि नागराजको पालादेखि अन्तिम खश राजा र बलिराजका उत्तराधिकारीहरूले पञ्च छाप लगाएको रीतिथीतिहरूबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको राठा अर्थात् थीतिबन्द बसेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरूको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । यसलाई स्थानीय लामा भाषामा लाईजेन चिटुट भनिन्छ । तीनको यो सभा वर्षको दुई पटक बस्ने गर्दछ ।
वि.सं. २०१८ सालमा भएको उत्तरी सीमाको रेखांकनमा सीमा निर्धारण गर्दा लिमी क्षेत्रको उर्बर, पोषिलो र राम्रो चरन क्षेत्र तिब्बती भूभागमा परेकाले वर्षेनी लिमी क्षेत्रको पशुवस्तुहरू घटउँदै जानुपर्ने र भएका पशुवस्तुहरू चरिचरन गरे वापत चरन कर पनि तिर्नुपर्ने अवस्थाले लिमीमा केही वर्षपछि त घरेलु कामका लागि प्रयोग हुने पशुवस्तुहरू पनि पाउन मुस्किल हुने छ ।
हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा चरीचरनको समस्याले गर्दा जीविकोपार्जनको मुख्य पेशा पशुपालन व्यवसाय संकटमा परेको छ । यसबाट लिम्यालहरू पुराङको कामदार बन्न बाध्य भएका छन् ।
नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको तीन गाउँमा धेरै मात्रामा कुमारी आमाको घर अर्थात् पुङदाङमा खाङ पाउन सकिन्छ । यहाँ मातृसत्ता जस्तै नारीले पुरुषलाई आफ्नो घरमा र आफु खुशी प्रयोग गर्न सक्छन् । धेरै पुरुषहरूलाई आफ्नो चाहना अनुसार माक्पा अर्थात् घरज्वाँई ल्याउने प्रचलन धेरै रहेको छ ।
पछिल्लो समय शासन सत्ता र विश्व परिवेश अनुसार पुरुषहरू पनि शक्तिशाली र निर्णायकर्ताको रुपमा स्थापित भएका छन् । यसैले पनि कुमारी आमाले जन्माएको सन्तानलाई पोङता भनिन्छ । यिनीहरू १६ वर्ष नहुँदासम्म सभासमारोह र गाउँको सामाजिक काममा सहभागी हुन नपाउने स्थानीय परम्परा रहेको छ । बल्ल १६ वर्षपछि बाबुको आलोटालो पाएपछि टोङचुको रुपमा स्तर वृद्धि हुने गर्दछ ।
यी कुमारी आमाहरूले चाहेमा आफुले चाहेको लोग्ने मानिस ल्याउन र पठाउन सक्ने परम्परा रहेको छ । नचाहेमा एक्लै पनि बस्न सक्छन् । नेपाली समाजमा कुमारी आमाबाट जन्मेका सन्तानलाई हेयको दृष्टिले हेरे पनि यहाँ भने सम्मानित स्थान दिइएको छ । समाजमा कुमारी आमा शक्तिशाली हुन्छन् ।
हिमालपारीको गाउँको रुपमा परिचित नाम्खा गाउँपालिकाको वडानं ६मा पर्ने तीन गाउँ लिमीको तील, हल्जी र जाङ्गमा बर्षको एक बाली मात्र अन्न पाक्दछ तर पछिल्लो समय लिमीमा मानिसहरू चीनको स्वाशासित क्षेत्र तिब्बतको पुराङ तालाखारबाट बन्दोबस्तीमा विभिन्न प्रकारका सामानहरू सहज रुपमा आयात गर्न सकिने भएकाले पनि स्थानीयस्तरमा हिमाली हावापानीमा पाक्ने नाफल, उवा, चोती, कोइरा र तोरीको खेती गर्न गराउन अल्छी गर्ने भएकाले पनि स्थानीय बालीनालीका बीउ पाउन गाह्रो भएको छ ।
यहाँ अहिले पनि नागराजको पालादेखि अन्तिम खश राजा र बलिराजका उत्तराधिकारीहरूले पञ्च छाप लगाएको रीतिथीतिहरूबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको राठा बसेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरूको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । बाहिरबाट जाने मानिसहरूका लागि यहाँका सबै कुराहरू अनौठो लाग्दछन् । यसले त झन् व्यथाको कथा बोकेको छ । कथाको व्यथा बोकेको छ ।
च्याक्पालुङ्ग । च्याक्पालुङ्ग शब्दलाई नेपालीमा रुपान्तर गर्दा यसको अर्थ अर्थ डाँका लाग्ने ठाउँ, चोर लाग्ने ठाउँ हुन्छ । जब चीनले तिब्बतलाई स्वशासित बनायो । त्यहाँको आर्थिक, सामाजिक तथा प्रसाशनिक अवस्था राम्रो भएपछि यस्ता कुराहरू अहिलेको पुस्तालाई इतिहासको पाटो मात्र भएका छन् ।
हो आजभोलि नाम्खा गापाको वडा नं ६ लिमीमा पर्ने च्याक्पालुङमा न त च्याक्पाहरू छन् न त छन् नाइकोर्बाहरू । तर नेपालभरी विभिन्न प्रकारका विकासआने च्याक्पाहरूको बिगबीगीले नेपालाई नै गरिब बनाएको छ । दाल्त बनाएको छ । यी र यस्ता च्याक्पाहरूलाई चिनेर समयमै कारवाही गर्न सकेमा विकासमा लाग्ने धिउरो र किराहरू निर्मुल हुनेछ । समयमै कारवाही गरौ र सामाजिक बहिष्कार गरौं ।
लिमीले शुरुवात गरेको लाप्चा लिमी सडकको काम सम्पन्न भएको छ । यहाँ नम्बर बिनाका नेपाली र चिनियाँ गाडीहरू सञ्चालन हुँदा लिम्यालहरूलाई केही मात्रा सेवा सुविधा थपिएको छ । तर पनि नेपाल सरकारले आफ्ना नागरिकहरूका लागि सरोकारका कुराहरूमा ध्यान नदिंदा प्रशासनिक तथा कानुनी बाधाहरू समाधान गर्नु पर्ने आवश्यक देखिन्छ । अब नडराउनुस् च्याक्पालुङ्गमा च्याक्या अर्थात् डाँका, चोर, ठग र फटाहाहरू हैन कि कैलास मानसरोवर दर्शन जाऔं ।