चार दिनदेखि हराएका स्वास्थ्यकर्मी मृत फेला

मंसिर १९,२०८०
हुम्ला । सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा घरबाट बेपत्ता भएको चार दिनपछि मृत फेला परेका छन्।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका ५२ वर्षीय फडेरा गत शुक्रबारदेखि बेपत्ता थिए। आफन्तले उनलाई सोमबार दिउँसो घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरमा मृत फेला परेका हुन्।
भिरबाट लडेर उनको मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ। उनको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको मुचुल्का गर्न सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको बताए। मुचुल्कापछि आज बाजुराको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने उनको भनाइ छ।