बक्यौता रकम नतिरेपछि सिम्रिक एयरको आजबाट उडानमा रोक

फिल्को मिसन

साउन २६,२०८०
सिमकोट । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । पटक–पटक ताकेता गर्दा पनि ऋण नतिरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुललेका अनुसार प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले आज शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको बताए ।
कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिने गरेको छ । सोही कारण सिम्रिकका चार वटा हेलिकप्टर उडानमा रोक लगाइएको हो ।
सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए । कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन् ।
सिम्रिक एयरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ वक्यौता रहेको छ । सिमकोट विमानस्थलमा १ लाख ५८ हजार,लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ र ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार वक्यौता रहेको पाइएको छ । प्राधिकरणलाई बक्यौता रकम चुक्ता गरेमा मात्र अब कम्पनीले उड्न पाउने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस