परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै

साउन ८,२०८० सोमबार
सिमकोट । हुम्लामा सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर समय बढाउन महिलाले अस्थायी साधनको प्रयोग गर्न थालेका हुन् ।
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले पालिकाभरी अहिले सिधै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र गाउँ टोलमा सञ्चालन हुने शिविरमार्फत महिलाहरूले परिवार नियोजनको साधन लिने गरेको बताए ।
सुरुसुरुमा परिवार नियोजनको अस्थायी साधनको प्रयोगबारेमा लजाउने महिलाले अहिले खुलेर अस्थायी साधानको प्रयोगको लागि स्वास्थय संस्थामा आउने गरेको छन । पछिल्लो समय परिवार नियोजन र अस्थायी साधन प्रयोगको प्रभावकारिताबारे बुझ्न थालेपछि महिलाले सहज रूपमा अस्थायी साधन प्रयोग गर्न थालेका स्वास्थ्यकर्मी बताउँछन् ।
अहिले परिवार नियोजनको अस्थायी साधनप्रति महिलाको आकर्षण बढेसँगै स्थानीय तहले पनि गाउँघरमै गएर स्वास्थ्य चौकीमा र घुम्ती शिविर सञ्चालन गरी सेवा दिन थालेका छन् ।
परिवार नियोजनको अस्थायी साधन डिपो प्रयोग गर्ने महिलाहरूको सङ्ख्या पछिल्लो ३ वर्षयता बढी रहेको पाइएको छ। तीन वर्षमा पहिलो वर्ष ५७ जना रहेकोमा त्यो सख्या दोस्रो वर्ष ६६ पुगेको थियो, भने यो वर्ष वृद्धि भएर ९७ जना पुगेको हो। त्यसैगरी, सो गाउँपालिकामा इम्प्लाण्ट प्रयोग गर्ने महिलाको सङ्ख्या ७७ जना रहेको छ भने पिल्स चक्की खाने महिलाको सङ्ख्या पनि ७८ जना रहेको छ।
पहिले स्वास्थ्य चौकीमा अस्थायी साधनहरू त्यति कै खेर गएको स्मरण गर्दै अहिले भने वृद्धि हुनु सकरात्मक पक्ष रहेकोे स्वास्थ्य शाखाका प्रमुख ढकालले बताए । यसका साथै यहाँ कन्डम प्रयोग गर्ने पुरुषको सख्यामा समेत वृद्धि भइरहेको छ।
यी साधन गाउँपालिकको पाँच वटा वडाका आठ स्वास्थ्य संस्थाबाट महिलाहरुले प्रयोग गर्दै आएका छन्। स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका मार्फत पनि यी साधन प्रयोग गर्न महिलालाई जनचेतना फैलाउने गर्दै आएका छन्।