निजी क्षेत्र मौका पाएसम्म कर छली गर्ने प्रयास हुन्छन् : प्रधानमन्त्री

बैशाख ९, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् ।
शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए । उनले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने बताए । दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने उनले भनाइ राखे ।
प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताए । उनले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हीततिर भन्दा तत्काल नाफा नोक्शातिर केन्द्रित हुने गरेको आरोप लगाए । उनले राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गरे ।
उनले विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गन प्रवृत्ति हाबी हुँदै गएको जिकिर गरे। उनले नेपालको इतिहास, संस्कृति, भुगोल, आर्थिक जीवनले विस्तृत गरेका मान्यताहरु परिभाषित गर्ने दिशातिर सरकारले ध्यान दिन नसकेको बताए। प्रधानमन्त्री दाहालले अहिले पनि अधिकांशमा केन्द्रिकृत मानसिकता नै हाबी हुने गरेको बताए।
प्रधानमन्त्री दाहालले सबैको सामूहिक प्रयासबाट नै अर्थतन्त्र लयमा आउन थालेको बताउनु भयो । उनले निजी क्षेत्रलाई अफ्ठ्यारो पार्ने काम गर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।