उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

फिल्को मिसन

फाल्गुन ३०, २०७९
सिमकोट दुई दिनदेखि सुत्केरी बेथा लागेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
हुम्लाको चङ्खेली गाउँपालिका–२ की जुनकला कामीको उच्च रक्तश्रावबाट थलिएपछि स्थानीय अस्पतालमा उनको उपचार सम्भव नदेखिपछि उनलाई
तत्काल नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए।
जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार बच्चा उल्टो अवस्थामा रहेको र सालनाल अगाडि निस्किएर स्वास्थ्य अवस्था जटिल बनेपछि उनको उद्धार गरिएको बताइन्। यस आर्थिक वर्षमा उनीसहित ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
बेथा लागेलगत्तै उनलाई पिप्लाङ स्वास्थ्य चौकीमा ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धार गरेर सुर्खेत पठाइएको हो।
गएको शुक्रबार पनि सर्केगाड गाउँपालिका–५ गोठी गाउँकी कलसी छत्याल शाही उच्च रक्तश्रावबाट थलिएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । यस आर्थिक वर्षमा उनीसहित ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाहरूको विषयमा प्रशासनसँग समन्वय गरी उद्धार गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस