एमाले सरकारबाट बाहिरियो छ, समर्थन पनि फिर्ता

फागुन १५,२०७९ सोमबार
काठमाडौँ । नेकपा एमाले पनि सरकारबाट बाहिरिएको छ । उसले प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
सोमबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट फिर्ता हुने निणय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्रीले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएकोले उक्त निर्णय गरिएको बताए ।
प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको उनले आरोप लगाएका छन् । उहाँले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा। विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको समेत पौडेलले आरोप लगाए ।
‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ,’ उनले भने, ‘हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा काँग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो ।
तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ । तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ ।’
प्रधानमन्त्रीको पछिल्लो हर्कतबाट राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर पारेको उनले बताए । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको उनको भनाइ थियो ।