प्रचण्डको जोड : सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने

असार ३१,२०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।
भारत भ्रमणमा रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले आज भारतको नयाँदिल्लीमा गरेको कार्यक्रममा कूटनीतिक संवाद मार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको हो ।
उहाँले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने धारणा राख्नुभयो ।
अध्यक्ष प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गर्नुभयो । नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको बताउदै उहाँले त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पार्नुभयो । भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत भ्रमणमा गएका हुन्।