उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन,समय अपराह्न ५ बजेसम्म

फिल्को मिसन

१५बैशाख २०७९ शुक्रबार
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ। उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दलसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले गत आइतबार र सोमबार आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।
जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली आजै प्रकाशित गर्ने बताउनुभयो । त्यसपछि भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने उहाँले जानकारी दिनुभयो । उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ प्रारम्भिक नामावली प्रकाशन गरेको थियो। शुक्रवार अपराह्नसम्म उम्मेदवारले नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन हुनेछ।

प्रतिक्रिया दिनुहोस