राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित
चैत २५,२०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ।
सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुने प्रावधान छ।
मन्त्रालयले गठन गरेको छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेललाई सदस्य राखिएको छ। समितिलाई एक महिनाभित्र छानबिनको प्रतिवेदन पेश गर्न भनिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै गभर्नरबारे छानबिन गर्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई निर्देशन दिएको बताइएको छ। बैठकमा प्रधानमन्त्री देउवाले आक्रोशित हुँदै अधिकारीमाथि काम गर्न नसकेको आरोप लगाएको स्रोतले बताएको छ। अधिकारीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७६ चैत २४ मा गभर्नर नियुक्त गरेको थियो । उनी नेपाल राष्ट्र बैंकको १७औँ गभर्नरका रूपमा नियुक्त भएका थिए । गभर्नर बर्खास्त गर्नुअघि नेपाल राष्ट्र बैंक ऐनको दफा २३ को १ अनुसार सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट सरकारले तोकेको २ जना व्यक्ति सदस्य रहने व्यवस्था छ । जाँचबुझ समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुन्छन् ।