कर्मचारी लाई कोरोना पृष्टि भएपछि हुम्ला प्रशासन कार्यालय सिल
माघ १७,२०७८ सोमबार
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्ला सिल गरिएको छ । प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि कार्यालय सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले सोमबार बेलुका एक सूचना जारी गर्दै माघ १७ गतेदेखि २३ गतेसम्म शान्तिसुरक्षा र विपत् व्यवस्थापनबाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको एक सूचान प्रकाशित गरिएको हो ।
साहयक प्रमुख जिल्ला अधिकारी राईको हस्ताक्षर सूचानामा भनिएको छ “सेवा प्रवाह गर्दा सेवाग्राहीसमेतलाई संक्रमण फैलिने जोखिम हुने हुँदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’ सहायक प्रजिअ राईले शङ्का लागेर आफैँ गएर कोरोना परिक्षण गराउनुभएपछि संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिंहले बताए । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । कोरोनाको तेस्रो लहर हुम्लामा पहिलो पटक गत माघ ७ गते जिल्ला अस्पतालका ८ जना र मालपोत कार्यालयमा १जना, गरि ९ जनामा कोरोना देखिएको थियो ।
यसअघिका संक्रमित निको भएर सबै घर फिर्ता भइसक्नुभएको छ । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित सङ्ख्या दश पुगेको छ । प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ ।