प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच वार्ता
माघ १६,२०७८ आइतबार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख सुङ थाओबीच भिडियो वार्ता भएको छ ।
काठमाडौंको होटल मेरिओटमा भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति धन्यवाद दिएका छन् । उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने पनि बताए ।
‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु’ भेटघाटमा प्रचण्डको भनाइ उधृत गर्दै उनको सचिवालयले भनेको छ । चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् ।