सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय तहको चुनावबारेमा छलफल
माघ १५,२०७८ शनिबार
काठमाडौं । सत्तारुढ दलका शिर्ष नेताले स्थानीय तहको निर्वाचन बारेमा सत्ता पक्षीय सबैदलका नेताहरूसँग आज छलफल गर्दैछ ।
आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा स्थानीय तहसँगै प्रदेश र सङ्घीय निर्वाचनका विषयमा छलफल हुनेछ । साथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने बताइएको छ ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिजो छलफल गरेका थिए । तीन नेताबीच छलफल भएपछि आज सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । तीन नेताहरुबीच भएको छलफलमा सरकारको कामको प्रभावकारिता र सदनमा पेश गर्ने अमेरिकी परियोजना (एमसीसी) का बारेमा पनि छलफल भएको बताइएको छ ।