कोरोनाको तेस्रो लहरविरुद्ध तयारी गर्दै कर्णाली प्रदेश सरकार

फिल्को मिसन

माघ ५,२०७८ बुधबार
सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाकोभाइरस (कोभिड–१९)को तेस्रो लहरविरुद्ध पूर्वतयारी थालिएको छ । प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्ने पूर्वतयारीस्वरुप ७ करोड ४४ लाख बराबरको बजेट व्यवस्थापन गरेको छ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले एम्बुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रति अस्पताल २० लाखका दरले ८० लाख रुपैयाँ निकासा गरिएको बताउनु भयो ।
त्यसैगरी शव वाहन खरिद गर्न दैलेख, कालीकोट, सल्यान र रुकुम पश्चिमका स्वास्थ्य सेवा कार्यालयलाई प्रतिअस्पताल १२ लाखका दरले ४८ लाख पठाएको छ। प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड बजेट छुट्याइएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकाको कोभिड–१९ व्यवस्थापकीय खर्चका लागि १० लाख गरी जम्मा २ करोड ४८ लाख बजेट सम्बन्धित कार्यालयलाई पठाइएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

त्यस्तै जिल्लास्थित विभिन्न स्थानीय तहमा कर्णाली प्रदेशबाट स्थापना भई सञ्चालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुका लागि प्रतिइकाई ५ लाखका दरले ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराई सामुदायिक स्वास्थ्य इकाईहरूको सेवा निरन्तर गरिएको छ।

कर्णाली प्रदेशले कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजनको ठूलो अभाव भोग्नुपरेको थियो। अहिले कर्णाली प्रदेश अस्पतालमा १, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवम् चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर नगर अस्पतालमा १, गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा यूएनडीपीको साझेदारीमा १, जिल्ला अस्पताल दैलेखमा १, कालीकोटमा १, रुकुम पश्चिममा १ गरेर आठ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ।
संक्रमणको तेस्रो लहर फैलिन नदिन प्रदेश सरकारले अस्पतालहरुको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा ध्यान केन्द्रित गर्दैछ । पहिलो र दोस्रो लहरका अनुभवका आधारमा प्रदेश सरकारले तेस्रो लहरसँग जुध्ने तयारीमा ध्यान दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस