भारतमा थपिए २ लाख ३८ हजार कोरोना संक्रमित
माघ ४,२०७८
काठमाण्डौं । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २ लाख ३८ हजार १८ जना संक्रमित भएका छन्।
अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ। सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघि २४ घण्टामा २ लाख ५८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए।सोमबार सार्वजनिक गरिएको दैनिक संक्रमितको संख्याभन्दा मङ्गलबार २० हजार ७ सय १२ जना थोरै हो।
भारतमा अहिलेसम्म कुल ३ करोड ७५ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन्।तीमध्ये १७ लाख ३६ हजार ६ सय २८ जना अहिले पनि संक्रमित छन्। संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। हाल रहेका सक्रिय संक्रमितमध्ये ८ हजार ८ सय ९१ जना मात्र ओमिक्रोन संक्रमित रहेको पाइएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणमुक्त भएकाहरुको सङ्ख्या १ लाख ५७ हजार ४ सय २१ छ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या ३ करोड ५३ लाख ९४ हजार ८ सय ८२ रहेको मन्त्रालयले जनाएको छ।पछिल्लो एक दिनमा ३ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु भएकाको सङ्ख्या ४ लाख ८६ हजार ७ सय ६१ रहेको छ।