मानवीय सहायता सामग्री लिएर परराष्ट्रको टोली आज काबुल प्रस्थान
माघ २,२०७८ आइतबार
काठमाडौं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउँदै छ । एउटा विमानभरी मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली आज बिहान साढे १० बजे अफगानिस्तानको राजधानी काबुल जाने छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झण्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ । औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली जान लागेको सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सीआईएनसँग बताउनुभयो । उहाँले सहायता सामग्रीमा स्वास्थ्य सामग्री र खाना पकाउने भाँडा लगायत रहेको बताउनुभयो ।
काबुल विमानस्थलमा संयुक्त राष्ट्र सङ्घको टोलीलाई सहायता सामग्री हस्तान्तरण गरिने जनाइएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही सङ्गठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाउन लागिएको हो ।