हुम्लाको पवित्र तीर्थस्थल खार्पुनाथमा माघी धुमधाम
माघ १,२०७८
हुम्ला । हुम्लाका विभिन्न मन्दिर र देवालयमा माघी पर्व दर्शन गरी भक्तजनले धुमधामका साथ मनाएका छन् । विशेष गरी खार्पुनाथगाउँपालिका–५ स्थित मानसरवरबाट बग्ने कर्णाली नदिको खार्पु दोभान तीर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थिति सहित माघी पर्व रमझम गरी मनाइएको खार्पुनाथ शिवलय समिती अध्यक्ष हरिभक्त शाहीले जानकारी दिनु भयो ।
रातभरि खार्पुनाथ मन्दिरमा जाग्राम बसी माघी मनाइएको छ । खार्पु दोभानमा माघीमा दर्शन गर्दा आफूले चिताएको पूरा हुने धार्मिक विश्वास छ । सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट तीर्थालु भक्तजन खार्पुनाथ मन्दिर दर्शन गर्न जान्छन् । रातभर आगो बालेर खार्पुनाथ मन्दिर परिसरमा फाक,चाँचि,शिवको भजन गाएर आन्नद लिएका छन । हरेक उम्मेरसमुहका समुह समुह देउडा नृत्यसहित युवाले रमाइलो गरी चाड मनाएको अध्यक्ष शाहीले बताए । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा छ ।
माघे संक्रान्तिका वेला कुनै पनि अप्रिय घटना नभएको र मेला धुमधाम सम्पन्न भएको स्थानीय सुरक्षा निकायले जनाएको छ । हुम्लामा माघी पर्वलाई आपसी सदभाव र भेटघाटको अवसरका रूपमा पनि लिने गरिएको छ ।