प्रधानमन्त्री देउवा आइसोलेशनमा, आज कोरोना परीक्षण गरिँदै
पुस २५,२०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आज पीसीआर परीक्षण हुने भएको छ । आइसोलेसनमा रहनुभएका प्रधानमन्त्री देउवाले आज कोरोना भए÷नभएको पुष्टि गर्नका लागि पिसिआर परीक्षण गर्न लाग्नुभएको हो ।
बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सहभागी केही नेताहरू कोरोना सङ्क्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बस्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
उहाँ सरकारी निवासमै आइसोलेसनमा रहनुभएको र आज पिसिआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने पनि देउवाले बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बस्नुभएको हो ।
दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो । प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटालगायतमा कोरोनाको संक्रमण पुष्टि भएको छ। सर्वदलीय । प्रधानमन्त्री देउवाले हिजो बिहान बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।